समानुपातिकमा एमालेले सत्ताइस लाख मत ल्यायाे, नेकपा एस राष्ट्रिय दल बन्न सङ्घर्ष गर्दै

काठमाण्डाै: प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे समानुपातिक तर्फकाे मतगणना अझै चलिरहेकाे छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामको विवरणअनुसार समानुपातिक तर्फ एक करोड एक लाख ७१ हजार मत गन्दा एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख ८५ हजार ९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार चार सय ४३ मत पाएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख चार हजार दुई सय ४५ मतसहित चाैथाे स्थानमा छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टी नेपालले चार लाख आठ हजार नाै सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९ र नेकपा एकीकृत समाजवादीले दुई लाख ९० हजार एक सय ९६ मत पाएकाे निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीले सङ्घर्ष गरिरहेको छ । चुनावमा एक करोड सात लाख मत खसेको अनुमान छ ।