
काठमाडौं : सत्तारुढ गठबन्धनले हालै सम्पन्न निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकाल्दै आगामी दिनमा अझै गठबन्धनलाई अझै शसक्त बनाएर लैजाने निर्णय गरेको हो ।तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको भएको गठबन्धनले जनाएको छ ।
मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने आवश्यकताले पनि गठबन्धनलाई निरन्तरता दिन जरुरी रहेको बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयाे। उहाले निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्टसन्देश दिएको धारणा राख्नुभयाे ।
निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएकाले असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने निर्णय भएको कार्कीले बताउनुभयाे । उहाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भन्दै सरकारमा अन्य दललाई पनि सहभागी गराउन प्रयत्न गर्ने उल्लेख गर्नुभयाे।
त्यस्तै गठबन्धनले निर्वाचनमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएको छ भने शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा सबैलाई धन्यवाद समेत दिएको छ ।