हापुरे असार १९ गते ।

दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेट अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा मिनी टिलर र पावर टिलर वितरण गरेको छ। गाउँपालिकाको कृषि विकास शाखा मार्फत सञ्चालित कार्यक्रममा बबईका सातै वडामा रहेका कृषि सहकारी, समूह तथा व्यवसायिक कृषकहरूलाई ५२ वटा मिनी टिलर र ७ वटा पावर टिलर प्रदान गरिएको हो।

कृषिमा यान्त्रिकरणको प्रवर्द्धन, श्रमको खपत घटाउने, उत्पादन लागत कम गर्ने र कृषकहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उदेश्यका साथ मिनी टिलर र पावर टिलर प्रदान गरिएको कृषि विकास शाखा प्रमुख दिपेन्द्र प्रसाद डाँगीले बताउनुभयो । डाँगीले यस्ता कार्यक्रमले खेतीलाई परम्परागत शैलीबाट व्यवसायिक मोडमा लैजाने, सहकारी तथा समूहको भूमिकालाई अझ बलियो बनाउने र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले आफुहरु पछिल्लो समय कृषि यान्त्रिकरण, उत्पादन वृद्धि र कृषक सशक्तीकरणमा केन्द्रित भएको बताउदै यस्ता उपकरणहरूले कृषकको बोझ कम हुने मात्र होइन, उत्पादनमा गुणात्मक वृद्धि हुने विश्वास लिएकाे बताउनुभयो । उपकरण प्राप्त गरेका कृषकहरूले खुशी व्यक्त गर्दै काम सजिलो, छिटो र सस्तो हुने भएकाले अब खेतीपाती व्यवस्थित र आधुनिक ढंगले गर्न सकिने बताएका छन् ।

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, उपाध्यक्ष बमकुमारी खड्का, वडा नं १ का अध्यक्ष प्रेमबहादुर डाँगी, वडा नं ३ का अध्यक्ष मानबहादुर केसी, वडा नं ५ का अध्यक्ष हर्कबहादुर श्रीस मगर, वडा नं ७ का अध्यक्ष तिलकराम भण्डारी, कार्यपालिका सदस्य नारायण परियार कृषि विकास शाखा प्रमुख दिपेन्द्र प्रसाद डाँगी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर