
हापुरे, वैशाख १५ गते
दाङको बबई गाउँपालिका वडा नं. ४ मा फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा वैशाख १३ र १४ गते उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिता मार्फत बबई गाउँपालिकामा आयोजना हुने बबई रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडीहरू समेत छनोट गरिएको छ।

हापुरे खेलमैदानमा आयोजित प्रतियोगितामा फुटबलतर्फ सात टोली सहभागी भएका थिए। सात टोलीबीचको प्रतिस्पर्धामा फाइनल खेलमा हापुरे युनाइटेड क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै हस्तनापुर युथ क्लब प्रथम भएको हो। फाइनल खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबेकरमा प्रवेश गरेको थियो। पेनाल्टी सुटआउटमा हस्तनापुर युथ क्लबका पत्रुस विश्वकर्माको निर्णायक गोलले जित सुनिश्चित गरेको हो।
त्यस्तै, पुरुष भलिबलतर्फ चार टोली सहभागी भएका थिए। जसमा वर्ल्ड इज गोल्ड क्लबले प्रथम स्थान हासिल गरेको छ। महिला भलिबलतर्फ दुई टोली सहभागी भएका थिए, जसमा भिजन युवा क्लब हस्तनापुर प्रथम भएको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूलाई अभ्यासका लागि भलिबल, फुटबल, भलिबल नेटलगायत खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको छ।
कार्यक्रम बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रतियोगिता सञ्चालन वडा सचिव तिलक केसीले गर्नुभएको थियो।