हापुरे, असाेज २९ गते ।

दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ ले गाउँपालिकालाई कुपोषणमुक्त पालिका बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। iDE र हेलन केलर इन्टरनेसनलको आर्थिक सहयोगमा ब्याकवार्ड सोसाइटी एजुकेसन दाङद्वारा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालासँगको बैठक तथा छलफल कार्यक्रमलाई सम्वाेधन गर्दै अध्यक्ष क्षेत्रीले यस्तो बताउनुभएको हाे ।

अध्यक्ष क्षेत्रीले नेपाल सरकारको नीति अनुरूप स्थानीय सरकारसँग समन्वय गरी परियाेजनाले कुपोषण निवारणका विविध कार्यहरू अघि बढाइएकाे बताउदै “पोषणका कार्यक्रमहरूले स्थानीय जनताको जीवनस्तर सुधार गर्न, बालबालिकाको स्वास्थ्य सुदृढ बनाउन र स्वस्थ समुदाय निर्माणमा सहयोग पुर्‍याएकाे बताउनुभयो । उहाँले कुपोषण मुक्त पालिका बनाउनका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी सँगै सञ्चारकर्मीहरुको पनि भूमिका अपरिहार्य हुने बताउनुभयो ।

कार्यक्रममा हेलेन केलर इन्टरनेसनलका फिल्ड अफिसर अनिल केसी र पोषणमार्फत जीवन रूपान्तरण परियोजनाका  कृषि तथा पाेषण अधिकृत  मनोज चौधरीले परियोजना मार्फत गत आर्थिक वर्षमा सम्पन्न कार्यहरूको जानकारी दिदै आगामी वर्ष परियाेजना मार्फत सञ्चालन हुने गतिविधिहरूबारे जानकारी गराउनु भएकाे थियाे । परियोजनाले बबई, शान्तिनगर, दङ्गीशरण, बङ्गलाचुली, राप्ती, राजपुर र गढवा गाउँपालिकामा पोषण संवेदनशील कार्यक्रम सञ्चालन गरिरहेकाे छ भने दाङका १० वटै पालिकाहरुमा पोषण विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत जोखिम वली, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका शाखा प्रमुखहरू, र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर