हापुरे, असाेज २३ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदीले गत भदौ २३ र २४ गते देशभर भएका जेन्जी आन्दोलन का घटनाक्रमहरूले नेपालको राजनीतिक अवस्था तरङ्गित बनाएको बताउनुभएको छ । रेडियो हापुरेसँगकाे कुराकानीमा उहाँले जेन्जी आन्दोलन केवल युवाहरूको भावनात्मक प्रतिक्रिया नभई मुलुकको पुरानो राजनीतिक व्यवस्थाप्रतिको असन्तुष्टिको प्रतिफल भएको बताउनुभयो ।

उहाँका अनुसार यो आन्दोलनले पुराना राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न र सच्चिन प्रेरित गरेको छ भने नयाँ राजनीतिक शक्तिहरूलाई एकता र सहकार्यका साथ अघि बढ्न सन्देश दिएको छ। सुवेदीले नेपालको वर्तमान राजनीतिक परिदृश्यले जनतामा राजनीतिक थकान र निराशा ल्याएको उल्लेख गर्दै, अबको यात्रामा जनताको विश्वास पुनःस्थापना गर्नु सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयाे “राजनीतिक दलहरूबीचको अविश्वास र प्रतिस्पर्धाभन्दा माथि उठी राष्ट्रको हितका लागि साझा उद्देश्य तय गर्न जरुरी छ।” आगामी फागुन २१ गतेका लागि सरकारले तय गरेको निर्वाचनलाई उहाँले नेपालको राजनीतिक दिशानिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै, उक्त निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक शक्ति र नागरिक समाज एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सके देशले जनताको अभिमतका आधारमा विधिसम्मत र स्थायित्वमुखी राजनीतिक यात्रातर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । सुवेदीले अहिलेको परिस्थितिमा सबै पक्षले संयम, एकता र जिम्मेवारीका साथ देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण तथा शुद्धिकरणमा योगदान दिनुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

सुवेदीले राजनीतिक अस्थिरता, भ्रष्ट्राचार र अविश्वासको वातावरण अन्त्य गर्न सकिए मात्र देशले दीर्घकालीन शान्ति, सुशासन र समृद्धिको मार्ग समात्न सक्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर