
हापुरे, असाेज २७ गते ।
दाङको बबई गाउँपालिका ४ हापुरेमा रहेको जनमुखी बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ ओैं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष विकासराज बालान क्षेत्रीकाे अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा साेमबार हापुरेमा साधारणसभा सम्पन्न भएको हाे ।
साधारण सभाले सहकारी संस्थाको आन्तरिक व्यवस्थापन र नीतिगत सुधारका विभिन्न महत्वपूर्ण कार्यविधिहरू सर्वसहमति पारित गरेको छ। सभाले आर्थिक प्रशासन कार्यविधि, ऋण असुली तथा धितो लिलाम बिक्री आन्तरिक कार्यविधि, ऋण व्यवस्थापन कार्यविधि, मानव संसाधन व्यवस्थापन कार्यविधि र सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि पारित गरेको हो।

त्यस्तै, सभाले अध्यक्ष विकासराज बालान क्षेत्रीद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन, प्रबन्ध सञ्चालक टेक बहादुर ओलीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, आगामी वर्षको वार्षिक बजेट र कार्यक्रम तथा लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
साधारण सभाले संस्थाको शुद्ध नाफाबाट शेयर सदस्यका प्रत्येक कित्ता शेयर (रु १००) मा रु १२ का दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै संरक्षक पुँजीकोषमा रहेको रकम ऋणी सदस्यले ऋणको ब्याज तिरेको आधारमा ब्याज तिरेको रकमको ५ प्रतिशत रकम फिर्ता गर्ने निर्णय समेत गरिएको छ।
त्यसैगरी सभाले मृत्यु राहत काेषको नीति निर्माण गरी कार्यान्वयन गर्ने, कृषिमा समर्थन मूल्य निर्देशिका जारी गर्दै हाललाई टमाटर, काउली र बन्दागोभीको समर्थन मूल्य निर्धारण गरी खरिद–बिक्रीको व्यवस्था गर्ने लगायतका १४ वटा निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ।
संस्थाका उपाध्यक्ष खिमकान्त धितालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, पूर्व हापुरे सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर श्रीस, रेडियो हापुरेका कार्यवाहक अध्यक्ष रामबहादुर डाँगी, हापुरे उद्योग वाणिज्य सङ्घका सचिव खुमबहादुर विक, बाघमारे सहकारी संस्थाका अध्यक्ष चुडामणि कँडेल, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवबहादुर केसी,संस्थाका संस्थापक कोषाध्यक्ष जितबहादुर ओली लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सहकारी संस्थाले गतबर्ष आफ्ना विभिन्न आर्थिक, सामाजिक र उत्पादनमुखी गतिविधिहरू सञ्चालन गर्दै १ करोड १० लाख १३ हजार ४ सय ४८ शुद्ध नाफा गरेको जनाएको छ। दाङ जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थामा हाल २ हजार २० जना शेयर सदस्य रहेका छन्। सहकारीले आगामी वर्ष थप उत्पादनमुखी र आय आर्जन मुखी कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ। साधारण सभाको सञ्चालन संस्थाका सचिव टिकाराम खत्रीले गर्नुभएको थियो।