काठमाण्डौ, असोज ४ गते ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक १७ घण्टादेखि दुईतर्फी नै बन्द छ । हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहेको तर सुरक्षालाई ध्यानमा राखेर तत्काल खटाउन नसकेको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । सुरक्षा जोखिमका कारण गएराति पनि काम हुन सकेको थिएन । मुग्लिन प्रहरीका अनुसार सडक खुलाउन आज दिनभर नै लाग्ने अनुमान छ । रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । सकेसम्म गाडी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा पूर्वबाट आउने साना गाडीले हेटौँडा–कुलेखानी र पश्चिमबाट आउने गाडीले कालिगण्डकी करिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर